प्रचण्डको पछुतो राजनीति : रुक्माङगतमाथि कारबाही गर्नु गल्ती भएको स्विकारे

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवालालाई कारबाही गर्दा गल्ती भएको स्विकारेका छन्।
पार्टी कार्यक्रममा शनिवार सिन्धुली पुगेका उनले २०६५ सालको निर्णय गलत भएको स्विकारेका हुन्। प्रचण्ड प्रधानमन्त्रीहुँदा कटवाललाई कारबाही गरेर आफू अनुकूलका ब्यक्तिलाई प्रधानसेनापति बनाउँन खोज्दा राष्ट्रपतिले नै हस्तक्षेप गर्नुपरेको थियो।
सरकारको निर्णय कार्यान्वयन नभएपछि प्रचण्डले राजीनामा दिएर सडकबाट सत्ता कब्जा गर्ने भन्दै आम हड्ताल घोषणा गरेका थिए जुन असफल भयो।
घटनाको १३ वर्षपछि उनले कटवाललाई कारबाही गर्दा गल्ती भएको स्विकारेका हुन्। कटवालमाथि कारबाही गर्दा पार्टी र देशले दुख पाएको उनको तर्क थियो।
डा बाबुराम भट्टराई र रामबहादुर थापा बादलले कटवालमाथि कारबाहीका लागि जोड गरेको उनको दाबी थियो। अहिले यी दुवै नेता प्रचण्डसँग छैनन्। बाबुराम जनता समाजवादी पार्टीमा पुगेका छन् भने बादल एमालेमा पुगेका छन्।
उनले कटवालको प्रसङ्ग अमेरिकी सहयोग परियोजना सम्झौता पारित गरेको विषयसँग जोडेका थिए।
विगतमाझैं क्रान्तिकारी बनेर एमसिसीको विपक्षमा गएको भए केन्द्रदेखि प्रदेशसम्मै सरकारबाट बाहिर आउनुपर्ने, सभामुख पद पनि गुम्ने र शान्ति सम्झौता समेत जाने उनको दाबी थियो।
'प्राप्त उपलब्धि पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेका हौँ,' उनले भने' क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने अनि शान्ति सम्झौता पनि जाने जोखिम थियो।’
उनले एमसिसी सम्झौता सांसदबाट पारित भएकाले देश दुर्घटनाबाट जोगिएको दाबी समेत गरे।
प्रचण्ड आफ्ना विगतको निर्णयमा पछुताएको यो पहिलो घटना हैन। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपति बनाउने वचन तोडेर रामराजाप्रसाद सिंहको पक्षमा लागेको घटनामा पनि उनले पछुतो मान्ने गरेका छन्।
एमालेसँग पार्टी एकता गर्ने विषयमा पनि उनको उस्तै अभिव्यक्ति आउने गरेका छन्।
चैत ५, २०७८ शनिबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।