प्रधानमन्त्रीद्वारा देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन, हबका रूपमा विकास हुने प्राधिकरणको दावी

प्रधानमन्त्रीद्वारा देशकै दोस्रो ठूलो सबस्टेशन उद्घाटन, हबका रूपमा विकास हुने प्राधिकरणको दावी

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो सबस्टेशनको उद्घाटन गरेका छन्। रामेछापको मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) मा निर्माण भएको नयाँ खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेशन आज प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।

सबस्टेशन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो। माथिल्लो तामाकोसी आयोजनाले नै निर्माण गरेको सबस्टेशन ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेशन हो।

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने नयाँ खिम्ती सबस्टेशनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेशनमा जोडिएको छ। माथिल्लो तामाकोसीको अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२.४ मेगावाट क्षमताको लिखू चौथो र २४.२ मेगावाट क्षमताको लिखू खोला ‘ए’ बाट उत्पादित विद्युत् यही सबस्टेशनमा जोडिएको छ।

त्यस्तै, नयाँ खिम्ती सबस्टेशनमा जोडिएको विद्युत् ७६ किलोमिटर २२० केभी प्रसारण लाइनबाट धनुषाको ढल्केबरस्थित ४००/२२०/१३२ केभी सबस्टेशनमा लगिएको छ। ढल्केबरबाट देशभित्र खपतका लागि पूर्व–पश्चिम पठाइएको छ भने बढी भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिएको छ।

नयाँ खिम्ती सबस्टेशनबाटै ४६ किमी लामो १३२ केभी प्रसारण लाइनबाट सिन्धुपाल्चोकको लामोसाँघुस्थित १३२ के.भी. सबस्टेशन हुँदै काठमाडौं उपत्यकासहित नेपालको राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् प्रवाह भइरहेको छ।

सबस्टेशनमा २२०/१३२ के.भी., ३३.३३ एमभीए क्षमताको चार वटा पावर ट्रान्सफर्मरहरू जडान गरिएको छ।

विसं २०७५ देखि निर्माण सुरु भएको सबस्टेशन गत असारमा निर्माण सम्पन्न भएको हो। सुरुआती लागत एक अर्ब ५० करोड बराबर भए पनि प्राकृतिक विपत्ति, कोरोना लगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियशन’ भएको थियो। 

रामेछाप, दोलखालगायत जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेशन प्राधिकरणको भाषामा 'हब सबस्टेशन'का रूपमा विकास हुने दावी गरिएको छ। माथिल्लो तामाकोसीको झन्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेशन भएर प्रवाह भइसकेको छ।

केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२/३३ केभी सबस्टेशनको उद्घाटन गरेकी थिइन्। यस्तै, न्यू बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेशन र मोतिपुर सबस्टेशनको समेत उद्घाटन भइसकेको छ।

चैत ५, २०७८ शनिबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।