तीनै तहका सरकार मिलेर खेलकुदको विकास गर्नुपर्छ: प्रदेश प्रमुख गुरुङ

तीनै तहका सरकार मिलेर खेलकुदको विकास गर्नुपर्छ: प्रदेश प्रमुख गुरुङ

पोखराः गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीनै तहका सरकार मिलेर खेलकुदको विकास गर्नुपर्ने बताएका छन्। शनिबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन समारोहलाई सम्बोधन गर्दै गुरुङले नेपालमा खेलकुदको अवस्था दयनीय रहेको बताउँदै खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि तीनै तहको सरकार लाग्नुपर्ने बताएका हुन्। 

गुरुङले नेपालमा सरकारको खेल क्षेत्रमा न्यून लगानी गरेको बताउँदै खेलकुदको विकासका लागि सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए। उनले भने, ‘सरकारले कमजोर अर्थतन्त्र भएकाले खेल क्षेत्रमा अत्यन्त कम लगानी गरेको छ। खेलाडीलाई प्रोसाहन गर्नेखालको योजना छैन। खेलाडीलाई आवश्यक प्रशिक्षणसँगै प्रोसाहन गर्ने अवस्था समेत छैन। यही तरिकाले हामीले अन्तर्राष्ट्रियरूपमा खेलकुदमा प्रतिस्पर्धा गर्न सक्दैनौं। आगामी दिनमा अन्तर्राष्ट्रियरूपमा खेलकुदलाई प्रतिस्पर्धी बनाउन तीनै तहका सरकारले खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर लाग्नुपर्छ।’

प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेशलाई पछिल्लो समय खेलकुदको हबका रूपमा हेर्न थाले पनि पर्याप्त विकास हुन नसकेको बताए।

‘पछिल्लो समय गण्डकीलाई खेलकुदको शहरका रूपमा हेर्न थालिएको छ’, उनले भने, ‘तर, खेलकुदको शहर भनिए पनि पर्याप्त मात्रामा खेलकुदको विकास भने हुन सकेको छैन,अब,सबै मिलेर गण्डकीको खेल क्षेत्रको विकासमा लाग्न जरुरी छ।’ 

गुरुङले गण्डकीको खेलकुदको विकासका लागि पत्रकारहरूले समेत आवाज उठाउनुपर्ने बताए।

चैत ५, २०७८ शनिबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।