मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष झा यस वर्षको 'महामुर्ख'

मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष झा यस वर्षको 'महामुर्ख'

धनुषाः जनकपुरको प्रसिद्ध महामुर्ख सम्मेलनले यस वर्षको महामुर्खको उपाधि डा. भोगेन्द्र झालाई प्रदान गरेको छ। झा मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष हुन्।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष ‘महामुर्ख’ को उपाधि दिँदै आएको छ। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई 'अदलबदली', नेपाली कांग्रेसका नगरउपसभापति राकेशविक्रम साहलाई 'टिटही', मिथिला चित्रकार मनिषा साहलाई 'गन्हकी', मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई 'हराशङ्ख', नेपाल पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष मनिका झालाई 'दिलतोरिया'को उपाधि दिइएको छ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई 'गोबर गणेश', गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई 'डपोर शङ्ख', वरिष्ठ कलाकार रामरेखा पण्डितलाई 'बज्रकीट', जनकपुरमा मिथिला चित्रकलालाई सुरुआत गरेकी मिथिलेश्वरी कर्णलाई 'लालबुझ्क्कड', व्यवसायी अभिशेष चौधरीलाई 'बोतलानन्द' र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई 'वैशाखनन्दन'को उपाधि दिइएको छ।

उपाधि मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले हस्तान्तरण गरेका थिए।

चैत ५, २०७८ शनिबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।