ककनीमा आगलागीमा परी तीन घर नष्ट, ५० लाखभन्दा बढीको क्षति

नुवाकोटः जिल्लाको ककनी गाँउपालिका–३ अचराङमा गए राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो।
स्थानीय कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेको छ। स्थानीय र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएका ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए।
उनका अनुसार आगलागीबाट करिब ५० लाखभन्दा बढीको क्षति भएको छ। आगलागीको कारण प्रष्ट नभए पनि विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताएका छन्।
चैत ५, २०७८ शनिबार १०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।