महिलाको नाममा जग्गा: चालु आर्थिक वर्षमा रसुवा मालपोतद्वारा ११ लाख राजस्व छुट

रसुवाः भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः बढ्दै गएको छ। गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले ११ लाख ६८ हजार ८३ रुपैयाँ राजस्व छुट दिएको छ।
मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म एक सय ४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउदै आएका छन्।
पछिल्लो एक वर्षको अवधिमा एक सय ८९ महिलाले भूस्वामित्व प्राप्त गरी नौ लाख आठ हजार सात सय ३९ रुपैयाँ शुल्क छुट पाएको प्रमुख श्रेष्ठले बताए। यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टिबन्धकबाहेक पाँच सय ६ थान लिखत पारित गरेको छ। यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजीनामा, दर्ताफारी, दान बकसपत्र, अंशबण्डा, अंश भर्पाई समेत रहेका छन्।
पारित लिखतबाट निर्धारित दररेटबमोजिम रु ९९ लाख ४६ हजार तीन सय ७९ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ। गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ।
चैत ५, २०७८ शनिबार ०८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।