नेपालबाट हराएका १६औं र १८औं शताब्दीका मूर्ति बेलायतद्वारा फिर्ता

नेपालबाट हराएका १६औं र १८औं शताब्दीका मूर्ति बेलायतद्वारा फिर्ता

काठमाडौं: सन् १९८० देखि १९९० को दशकको बीचमा नेपालबाट हराएका प्राचीन मूर्तिमध्ये दुई मूर्ति बेलायतले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक कार्यक्रमबीच बेलायत प्रहरीले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौंको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।

मूर्तिका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो।

मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताएका थिए। बेलायत प्रहरीका तर्फबाट डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुशी लागेको बताएका थिए।

मूर्तिहरू चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताइन्। 

चैत ५, २०७८ शनिबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।