पोखरामा पर्यटक लिन गएको स्करपियो  दुर्घटना

पोखरामा पर्यटक लिन गएको स्करपियो  दुर्घटना

काठमाडौँ : जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ घलेलमा आज स्करपियो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका-९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो १२ः४५ बजे पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल–कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

दुर्घटना लगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए। दुर्घटनामा परेको गाडी अस्तामस्थित अन्नपूर्ण इको भिलेजको रहेको बताइन्छ। मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यमा पठाइएको मर्दी हिमाल इको भिलेजका प्रवन्ध निर्देशक शिवप्रसाद भण्डारीले जानकारी दिए। 
 

चैत ४, २०७८ शुक्रबार २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।