पलको खातामा जम्मा २० लाख, पीडितलाई क्षतिपूर्तिका लागि त्यो पनि रोकिने

काठमाडौँ : एकै म्युजिक भिडियोको पारिश्रमिक ३ लाख बढी लिने दाबी गरेका अभिनेता पल शाहको २ वटा खातामा जम्मा २० लाख रकम मात्र रहेको खुलेको छ। एकै फिल्ममा १० लाख पारिश्रमिक लिने अनि महिनामा १० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने शाहको २ वटा बैङ्कमा खाता रहेको खुलेको छ।
प्रहरी अनुसन्धानमा एनएमबी बैङ्क र ग्लोबल आइएमइ बैङ्कमा उनको खाता रहेको खुलेको छ। शाह विरुद्ध जिल्ला अदालत नवलपुरमा बिहीबार दर्ता भएको नाबालिगको बलात्कार गरेको अभियोग पत्रमा मुलुकी अपराध संहिताको दफा २२८ अनुसारको माग दाबी समेत लिइएको छ।
सो दफामा पीडितलाई मनासिब क्षतिपूर्तिको माग दाबी छ। पीडितलाई क्षतिपूर्ति भराउने प्रयोजनका लागि शाहको सम्पत्ति खोजीको क्रममा प्रहरीले ग्लोबल आइएमइ बैङ्कमा रहेको खातामा १६ लाख १० हजार र एनएमबी बैङ्कको खातामा ४ लाख २५ हजार रहेको बैङ्कको स्टेटमेन्टमा खुलेको थियो।
प्रहरीले सो रकम मुलुकी फौजदारी कार्यविधि नियमावली अनुसार कसैले निकाल्न नपाउने गरी रोक्का राख्न आदेशका लागि अदालतसँग अनुरोध गरिएको छ।
अभियोग पत्रमा शाहबाट अपराध पीडित संरक्षण ऐन अनुसारको रकम पीडित राहत कोषमा जम्मा गरी पाउने माग समेत गरिएको छ। नाबालिग बलात्कारको कसुरमा कैद सजायसँगै कसुरदारलाई ४ लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ।
चैत ४, २०७८ शुक्रबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।