घुस लिएर लाइसेन्स दिने यातायात कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा
काठमाडौँ : अख्तियार दुरुपयोग अनुन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा फेल भएकाहरूसँग घुस लिएर पास गराएको आरोपमा उनीहरुलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले, अधिकृतस्तर आठौँ तहका भरतमणि बराल, अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदीमाथि मुद्दा दायर गरेको हो।
गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा संचालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
चैत ४, २०७८ शुक्रबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।