पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ : नाबालिग गायिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँले तेस्रो पटक म्याद थप गरेको छ।
अनुसन्धानका लागि गैंडाकोट लगरे तनहुँ ल्याइएका शाहको पछिल्लो समय थपिएको १२ दिनको म्याद सकिएपछि पुनः अदालतबाट पाँच दिनका लागि म्याद थप भएको हो।
यसअघि शाह विरुद्ध फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते दोस्रो पटक १२ दिन म्याद थप भएको थियो। दोस्रो पटक थपिएको म्याद शुक्रबार सकिएकाले पुनः पाँच दिन म्याद थप गरिएको हो।
तनहुँमा प्रहरी हिरासतमा रहेका शाह विरुद्ध नवलपुर प्रहरीमा समेत बलात्कारको उजुरी परेपछि उनलाई गैंडाकोट झिकाइएर बयान लिइएको थियो। नवलपुर अदालतमा शाहविरुद्ध बिहीबार मुद्दा दर्ता भइसकेको छ।
बलात्कारको आरोपमा पक्राउ गरेका शाह विरुद्ध आवश्यक अनुसन्धान नसकिएकाले अदातलबाट थप ५ दिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँका डिएसपी युवराज खड्काले बताए।
‘आवश्यक अनुसन्धान नसकिएकाले अदालतबाट म्याद थप गरिएको हो’, डिएसपी खडेकाले भने, ‘दोस्रो पटक म्याद थप गरी अनुसन्धान जारी रहेका बेला शाहलाई गैंडाकोट लगिएकाले समय नपुगेकाले पाँच दिन म्याद थप गरिएको हो।’
शाहलाई नवलपुरबाट ल्याएर पुनः अनुसन्धान गरिरहेको डिएसपी खडेकाले बताए। उनले भने, ‘नवलपुरबाट शाहलाई ल्याएपछि हामीले थप अनुसन्धान गरिरहेका छौं। अनुसन्धान जारी भएकाले पुनः म्याद थपिएको छ। अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता गर्छौं।’
चैत ४, २०७८ शुक्रबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।