कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे।
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताए। उनले भने, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ।” उनले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागे। युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उनले उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गरे। उनले भने, “अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ।
समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ।” अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उनको भनाइ थियो।
चैत ४, २०७८ शुक्रबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।