पूर्वमन्त्री साहलाई बदनाम गर्न प्रजिअ र एसपी लागेको भन्दै एमाले रौतहटले अनिश्चितकालीन बन्द गर्ने

गौरः नेकपा एमाले रौतहट जिल्ला कमिटीले अनिश्चितकालका लागि रौतहट जिल्ला बन्द गर्ने घोषणा गरेको छ। गठबन्धन सरकारले एमाले पार्टी र पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै जिल्ला बन्द गर्ने घोषणा गरिएको हो।
शुक्रबार जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह 'अमर'ले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको षड्यन्त्रको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालय लगायत माथिल्लो निकायको ध्यानाकर्षण गराएका हुन्।
अध्यक्ष साहका अनुसार गाडी दुर्घटनाको विषयमा अनावश्यकरूपमा प्रभु साहको नाम जोडेर जिल्लाका प्रजिअ र एसपी लगायतले बदनाम गरिरहेको छन्। दुर्घटनामा संलग्न सवारी चालक प्रहरी नियन्त्रणमा रहँदा समेत दोषीलाई कारबाही र घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउनुका सट्टा प्रशासनले प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष साहका अनुसार केही दिनअघि पनि एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा प्रजिअले माफी मागेका थिए। यस्तै अनावश्यक रूपमा साहका स्वकीय विजय यादवलाई फसाउन खोज्दा डीएसपीले समेत माफी मागेका थिए। यद्यपि, गठबन्धनको इसारामा पार्टीमाथि नै आक्रमण सुरु गरेकोले रौतहट बन्दसहित संघर्षको कार्यक्रम अगाडि बढ्ने उनले बताए।
"दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बदनियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ", वक्तव्यमा उल्लेख छ।
यस्तै आम जनतामा कानूनी राज्यको प्रत्याभूति दिलाउनका लागि सम्बन्धित प्रजिअ, एसपीसहितको कर्मचारीहरूलाई तत्काल निलम्बन गरी घटनासँग सम्बन्धित सम्पूर्ण सत्यतथ्य विवरण निष्पक्ष रूपमा छानबिन गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ।
चैत ४, २०७८ शुक्रबार १०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।