पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दामा दायर

पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दामा दायर

पोखरा : नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाह विरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दामा दायर भएको छ।

१६ वर्षीया नाबालिग गायिकालाई भिडियो गीतको छायांकनका क्रममा बलात्कार गरेको उजुरीपछि सरकारी वकिलको कार्यालयले शाह विरुद्ध बलात्कारको अभियोगपत्र अदालतमा दायर भएको हो। 

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाकोट लगिएका शाहसँग गैंडाकोट प्रहरीले बयान सकाएर बुधबार सरकारी वकिलको कार्यालयमा आवश्यक कागाजत बुझाएको थियो। 

प्रहरीले तयार पारको काजगातका आधारमा शाह विरुद्ध जिल्ला अदालतमा बलात्कारको अभियोगपत्र दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी डालबहादुर नेपालीले बताए। उनले भने, ‘१५ वर्ष, आठ महिना, ४ दिनकी नाबालिकालाई बतात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दावी गर्दै मुद्दा दायर गरिएको हो।’

आरोपित शाह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) मा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।

तनहुँको दमौलीबाट बयानका लागि गैंडाकोट लगिएका शाहले त्यहाँ नाबालिग गायिकालाई आफूले बलात्कार नगरेको बयान दिएका थिए। शाहले तनहुँ प्रहरीसमक्ष पनि नाबालिग गायिकाको कोठामा छिरे पनि उनीसँग शारीरिक सम्पर्क नभएको बयान दिएका थिए। 

इलाका प्रहरी कार्यालय गैंडाकोटले बलात्कार आरोपित शाहलाई सरकारी वकिल समक्ष राखेर बयान लिएको थियो।

यता शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको समय यही ४ गते सकिँदै छ।

तनहुँ प्रहरीले शाहलाई पक्राउ गरेपछि पहिलो पटक अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो। अदालतबाट पुनः दोस्रो पटक १२ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको थियो । तर त्यही १२ दिन थप गरिएको समयमा शाहलाई नवलपुर लगिएको थियो।

चैत ३, २०७८ बिहीबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।