विभिन्न स्थानबाट खैरो हेरोइनसहित १२ जना युवा-युवती पक्राउ

विभिन्न स्थानबाट खैरो हेरोइनसहित १२ जना युवा-युवती पक्राउ

काठमाडौंः प्रहरीले लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरूलाई उपत्यकालगायत विभिन्न क्षेत्रबाट १९१.७१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन्। यस्तै नगरकोटीसँग लागूऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको जनाइएको छ।

त्यस्तै मोरङको बेलबारीकी ३१ वर्षीय कविता गुरुङ र काभ्रेपलाञ्चोकका ३३ वर्षीय मिलन लामा पनि पक्राउ परेका छन्। गुरुङलाई लागूऔषध उपलब्ध गराउने सुनसरीका २२ वर्षीय मिथुनकुमार यादव र सोही ठाउँका प्रमोदकुमार सरदारलाई पनि पक्राउ गरिएको छ।

यस्तै सिन्धुपाल्चोकका रोमन भण्डारी, दोलखाकी प्रज्ञा कार्की, भारतीय नागरिक मिजाहिद राजा र सिन्धुपाल्चोकका राजेश नेपाललाई काठमाडौंबाट पक्राउ गरिएको छ। उनीहरू सबैलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

चैत ३, २०७८ बिहीबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।