कांग्रेसले साथ नदिए एमालेसँग चुनावी गठबन्धन हुनसक्ने प्रचण्डको सङ्केत

बुटवलः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसले साथ नदिए चुनावी तालमेलको परिस्थिति बदलिने बताएका छन्। बुटवलमा प्रेस सेन्टर लुम्बिनीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेसका कतिपय नेताहरूले निर्वाचनमा एक्लै जानुपर्ने तर्क गरेको प्रसंग सुनाउँदै कांग्रेसले साथ नदिए निर्वाचनमा एमालेसँग पनि तालमेल हुनसक्ने सङ्केत उनले गरेका हुन्।
उनले आफूहरू अन्तिम समयसम्म हालको गठबन्धन बचाउने पक्षमा नै रहेको बताउँदै कांग्रेसले साथ नदिएको खण्डमा संकटको निकास दिन तीतो मीठो भए पनि सहज छलफलबाट निकासका लागि अरू दलसँग छलफल गर्ने समेत बताए।
‘प्रतिगमनका विरुद्ध जसरी हामी एक भयौँ, त्यहीअनुसार चुनावमा पनि गठबन्धन जोगाएर एक भएर जाने भन्नेमा छौँ। प्रधानमन्त्री देउवा जी पनि यसमा सहमत हुनुहुन्छ। तर कतिपय नेताले लखेट्न प्रयत्न पनि गर्नुभएको छ’, उनले भने।
उनले गठबन्धन निर्वाचनसम्म रहने वा नरहने कांग्रेसको व्यवहारमा भरपर्ने समेत बताए। ‘राजनीतिमा असम्भव भन्ने केही छैन, राजनीति सम्भावनाको खेल पनि हो’, उनले भने।
आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क रहन भन्दै उनले आफ्ना नेता कार्यकर्ताहरूलाई निर्वाचन तयारीमा लाग्न पनि आग्रह गरेका छन्। त्यस्तै उनले गठबन्धनको आशाभन्दा पनि आफ्नै संगठनको प्रयोग र अजेण्डाले निर्वाचनमा विजयी हुने बताए।
साथै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव सदनको अर्को अधिवेशनबाट छलफलमा जाने पनि बताए।
चैत ३, २०७८ बिहीबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।