इटहरीको एपेक्स हस्पिटलमा बालकको मृत्यु, आफन्तले गरे अस्पताल तोडफोड

इटहरीको एपेक्स हस्पिटलमा बालकको मृत्यु, आफन्तले गरे अस्पताल तोडफोड

इटहरीः सुनसरीको इटहरी पश्चिम लाइनमा रहेको एपेक्स हस्पिटलमा एक बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएका छन्। 

इटहरी- २ तरहराका साढे ३ वर्षीय सन्देश साहको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो। मृतक बालकका आफन्तहरूले अस्पताल तोडफोड गर्नुका साथै आन्दोलन गरिरहेका छन्। बिहीबार बिहानैदेखि आन्दोलनमा उत्रिएका उनीहरूले डाक्टर र नर्सलाई कारबाही हुनुपर्ने माग राखेका छन्।

दिउँसो सामान्य बान्ता भएपछि बालकलाई उपचारको लागि अस्पताल पुर्याइएको फुपु बबिता साहले बताइन्। चिकित्सकले एकैपटक ६ वटासम्म सुई लगाएका कारण बालकले थेग्न नसकेर मृत्यु भएको पनि उनले आरोप लगाइन्। साँझसम्म खेलिरहेको बालक एक्कासि छट्पटाएपछि अस्पताल लगिएको उनले सुनाइन्।

उता अस्पताल प्रशासनले भने बालकमा गम्भीर रोगको सङ्क्रमण भएको हुनसक्ने बताएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नमिल्ने उनीहरूले बताएका छन्।

यतिबेला अस्पताल परिसरमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।

चैत ३, २०७८ बिहीबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।