होलीका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

काठमाडौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरूपमा गैरकानूनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्न आदेश दिएको छ। बुधबार सार्वजनिक अपिल जारी गर्दै प्रशासनले कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्ने लगायत गरेमा कारबाही गर्न आदेश दिएको हो।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कानूनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरिन्। यस्ता कार्य गरेमा कानूनबमोजिम कारबाही गरिने उनले बताइन्।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरूपमा मनाउन आह्वान गरेकी छिन्।
चैत ३, २०७८ बिहीबार ०८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।