बलात्कारका अभियुक्त एमाले सांसदलाई धरौटी !

बाँके : बलात्कार अभियोग लागेका एमालेका सांसद मोहन बानियाँलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। प्राय जघन्य अपराधको थुनछेकमा धरौटी निस्कँदैन। तर अनुसन्धानका लागि १७ दिन प्रहरी हिरासतमा रहेका बानियाँको नाममा बुधवार अदालतले धरौटी माग्यो पाँच लाख।
पाँच लाख धरौटी बुझाएर उनी बुधवार रिहा भए बाँके अदालतबाट। उनी विरुद्ध जुम्लाकी ४० वर्षीया महिलाले होटेलमा बोलाएर बलात्कारको गरेको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। बाँके प्रहरीले उनलाई १६ फागुनमा नेपालगन्ज विमानस्थलमा पक्राउ गर्यो।
१९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख थियो। महिलाले बानियाँविरुद्ध २७ माघमा प्रहरीमा उजुरी दिएकी थिइन्।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै उनले नेपालगन्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन्।
बुधबारको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दियो। जाहेरी दर्तासँगै निलम्बनमा परेका सांसदले बलात्कार नगरेको दाबी गरेका थिए।
सामान्यतया तीन वर्षमाथि सजाय हुनसक्ने, पीडितलाई प्रभाव पार्न सक्ने, प्रमाण नष्ट गर्न सक्ने, भाग्न सक्ने सम्भावना रहेका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइन्छ। सांसद बानियाँ पुर्वमन्त्री समेत हुन्। पीडितलाई होस्टायल गर्न सक्ने जोखिम पनि छ। अभियोग प्रमाणित भए तीन वर्षमाथि सजाय हुने कसुर हो बलात्कार।
चैत २, २०७८ बुधबार २३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।