साना दलको पक्षमा निर्वाचन आयोगको निर्णय, दर्ताकै बेलाको चुनाव चिन्ह पाउने

साना दलको पक्षमा निर्वाचन आयोगको निर्णय, दर्ताकै बेलाको चुनाव चिन्ह पाउने

काठमाडौँ : निर्वाचन आयोगले साना दललाई स्थानीय तह निर्वाचनमा सर्तसहित दल दर्ता हुँदाको चुनाव चिन्ह दिने निर्णय गरेको छ। आयोगको बुधवार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलहरूलाई समेत दर्ता हुँदाको चिन्ह दिने निर्णय गरेको हो। तर त्यसमा सर्त समेत राखेको छ।

आयोगको बुधवार सार्वजनिक गरेको निर्णयमा राष्ट्रिय मान्यता नपाएका दलहरूले पनि आफ्नै चुनाव चिन्ह पाउने तर सर्तहरू मान्नुपर्ने उल्लेख छ। यसका लागि दलले कुन–कुन जिल्लामा जिल्ला स्तरको सङ्गठनात्मक संरचना छ भन्ने विवरण केन्द्रीय पदाधिकारीबाट प्रमाणित गरी ६ चैतभित्र आयोगलाई बुझाउनुपर्ने सर्त राखेको छ।

जिल्ला निर्वाचन कार्यालयले चेकजाँच गर्दा विवरण मिलेमा विवरण बुझाउने दलहरूको चुनाव चिह्न राखेर मतपत्र छापेर उम्मेदवारी दर्तापछि सम्बन्धित दलकै चुनाव चिह्न दिइने आयोगले निर्णय गरेको छ। विवरण नबुझाउने दलले जिल्लामा स्वतन्त्र उम्मेदवारकै चुनाव चिह्न लिने प्रतिबद्धता समेत जनाउनु पर्ने आयोगको सर्त छ।

आयोगले मागेको विवरण नबुझाएको दलको उम्मेदवारले भने स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउन सक्छ।

सो कानुनी प्रावधान अनुसार वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पाँच दलले मात्रै स्थायी चुनाव चिन्ह पाउन सक्छन्। त्यसमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र दलीय चुनाव चिह्न पाउन सक्छन्।

चैत २, २०७८ बुधबार २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।