होलीमा उश्रृङखल गतिविधि रोक्न पोखराका तीस ठाउँमा चेकपोस्ट

होलीमा उश्रृङखल गतिविधि रोक्न पोखराका तीस ठाउँमा चेकपोस्ट

पोखरा : होली पर्वमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले चेकजाँचलाई कडाइ गर्ने भएको छ। होलीलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले पोखरा क्षेत्रका तीस ठाउँमा थप चेकपोइन्ट बनाएर चेकजाँच गर्ने भएको हो। 

होलीका नाममा अश्लील उश्रृङखल र अप्रिय गतिविधि हुन नदिन थप ३० ठाउँमा चेकपोस्ट 
राखेर चेकजाँच गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए। उनले भने, ‘होलीमा मापसे सेवन गरेर अश्लील क्रियाकलाप गर्ने, कसैको इच्छा विपरीत जबरजस्ती रंग दल्ने जस्ता कार्य रोक्न ३० भन्दा बढी ठाउँहरूमा चेक पोष्ट बनाएर चेकिङलाई कडा पारिने छ। शान्ति सुरक्षा कायम गर्न सादा पाेसाकका प्रहरीसमेत परिचालन गर्दैछौं।’

डिएसपी तिवारीले शान्ति सुरक्षाको लागी प्रदेश प्रहरी कार्यालयसंग समन्वय गरेर सादा पाेसाकका प्रहरी खटाइने बताए। पर्वका नाममा उश्रृङखल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागु गरिएको उनले बताए।

जथाभाबी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड-रक्सी खाएर सवारी चलाउने, झै-झगडा गर्ने र दुर्व्यवहार गर्ने माथि कडा कारबाही गरिने डिएसपी तिवारीले बताए। 

उनका अनुसार सादा पोसाकका ट्राफिक प्रहरी सहितको टोलीले संयुक्त रूपमा चेकजाँच गर्ने छन्। पोखराको लेकसाइड, खपौदी, जिरो किलोमिटर लगायतका क्षेत्रमा विशेष सुरक्षाका जनशक्ति खटाइने छ।

कसैले आफ्नो इच्छा विपरीत जबरजस्ती होलीको नाममा दुर्व्यवहार गरेमा प्रहरीलाई खबर गर्न कास्की प्रहरीले अनुरोध गरेको छ। पहाडी क्षेत्रमा भोलि र तराईका जिल्लाहरूमा पर्सि होली मनाइँदै छ।
 

चैत २, २०७८ बुधबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।