चार महिनापछि माओवादी लुम्बिनीले टुंग्यायो पदाधिकारी, अध्यक्षमा बराल

चार महिनापछि माओवादी लुम्बिनीले टुंग्यायो पदाधिकारी, अध्यक्षमा बराल

काठमाडौँ : माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ। पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादीले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो। दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हाे।

अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो। प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ भने सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन्। बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ।

नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले सपथग्रहण गराएका छन्।

चैत २, २०७८ बुधबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।