होलीमा ट्राफिक आक्रामक, तीन जिल्लामा ६८ चेकपोस्ट, १३ सय प्रहरी खटिने

होलीमा ट्राफिक आक्रामक, तीन जिल्लामा ६८ चेकपोस्ट, १३ सय प्रहरी खटिने
तस्बिर : ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ : होलीमा हुनसक्ने सवारी नियम उलङ्घन नियन्त्रण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होलीमा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न र दुर्घटना रहित पर्व बनाउन भन्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा एक हजार तीन सय ट्राफिक प्रहरी सडकमा खटाउने भएको छ।

बुधवार महाशाखामा एसएसपी उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका थिए। उनले होलीमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौती र खतराहरू उल्लेख गर्दै

बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने बताएका थिए।

तीव्र गति र जिकज्याक गरेर मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जना भन्दा बढी बस्ने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउनेलाई कारबाही गर्ने तयारी गरिएको छ।

यसै गरी सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको उनले बताए। महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको उनले बताए।

फागु पूर्णिमा (होली) को शुभकामना सहित दुर्घटना रहित व्यवस्थित, मर्यादित र सुरक्षित पर्वको रूपमा मनाउन सम्पूर्ण महानुभावहरूलाई ट्राफिक महाशाखाले विशेष अनुरोध समेत गरेको छ।

चैत २, २०७८ बुधबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।