एनआरएनए फुटको संघारमा, दुई समूह अलग-अलग महाधिवेशनको तयारीमा

एनआरएनए फुटको संघारमा, दुई समूह अलग-अलग महाधिवेशनको तयारीमा

काठमाडौँ : गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली संघ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ। नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि एनआरएनए स्थापना गरिएको संस्था यतिखेर संकटमा परेकाे छ। 

एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको छ। एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलग-अलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ। यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहेका छन्। 

सङ्घको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि सङ्घका अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिसकेको छ। सो समूहले यही चैत १० र ११ गते मतदान गर्ने तयारी गरेको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए।

यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा सङ्घका उपाध्यक्ष लामा समूहले यही चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ। महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताए। महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी रहेको उनले बताए।

सङ्घको विधानअनुसार गत अक्टोबर २३-२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो। त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो। सङ्घको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो। 

चैत २, २०७८ बुधबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।