फेरी बढ्दै पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको बताएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले १५ दिनमै पेट्रोलको मूल्य बढाएर पठाएपछि इन्धन झनै महंगिने भएको हो ।
आइओसीले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार आफूले बेच्ने मूल्य तय गरी निगमलाई १५-१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च भएकाे निगमले जनाएको छ।
आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ। निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ। सो अवधिमा पेट्रोलको बिक्रीबाट एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मट्टितेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ।
आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ। मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपैयाँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ।
चैत २, २०७८ बुधबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।