गोली लागेर डडेल्धुरामा एक जनाको मृत्यु, चार प्रहरी नियन्त्रणमा

काठमाडौँ : डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
गोली लागेका दलबहादुरलाई उपचारका लागि डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृत्तकको शव अस्पतालमा राखिएको बताइएको छ।
त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन।
चैत २, २०७८ बुधबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।