भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने सहमति

भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने सहमति

काठमाडौंः यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री अब्दुलरहमान अब्दुलमानन अल अवारबीच नेपाली श्रमिकको हितका विषयमा मङ्गलबार छलफल भएको छ। 

छलफलमा श्रममन्त्री श्रेष्ठले यूएई सरकारले हालै जारी गरेको श्रम कानून आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरेका थिए। साथै रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने पनि सहमति भएको छ।

यस्तै मन्त्री अवारले यूएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए। 

नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

चैत २, २०७८ बुधबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।