आगलागीबाट सावधानी अपनाउन प्रहरीको आग्रह

आगलागीबाट सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौंः नेपाल प्रहरीले आगलागीबाट हुनसक्ने क्षतितर्फ सचेत गराउँदै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ।

परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने बताए। परिसरले सावधानीका उपायबारे ११ बुँदे ध्यानाकर्षण समेत सार्वजनिक गरेको छ। 

आगो उत्पन्न हुने सलाई, लाइटर, ग्याँस सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न अनुरोध गरिएको छ। विद्युतजन्य सामग्री (हिटर, गिजर, पङ्खा, आइरन, एसी आदि)लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न, पूजाकोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर नछाड्न र आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कनुपर्दा घोप्टो परेर अथवा घस्रेर निस्कन अनुरोध गरेको छ।

यस्तै ग्याँस सिलिण्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न, ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए÷नभएको यकिन गरी प्रयोग गर्न, गाईवस्तु चरनका निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो नलगाउन, वनमा वनभोज गर्दा बालेको आगो र खाएको चुरोटको ठुटा पूर्णरूपमा निभाउन आग्रह गरिएको छ।

आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ।

चैत २, २०७८ बुधबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।