
अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कारण अन्धकार टाङ्गिया बस्तीमा दुई महिनाभित्र विद्युत पुर्याउने ऊर्जामन्त्रीको प्रतिबद्धता

बाराः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीमा बिजुली उपलब्ध गराउने बताएकी छिन्। आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुलीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने वचनअनुसार कार्यान्वनको चरणमा पुर्याइएको बताएकी हुन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन। अब भने विमानस्थल बने यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्नेगरी विद्युतीकरण गर्न लागिएको हो।
सर्लाहीको नवलपुरमा रहेको सबस्टेशन उद्घाटका लागि गएकी मन्त्री भुसाल मङ्गलबार टाङ्गिया बस्तीमा समेत पुगेकी थिइन्। त्यहाँ उनले बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताएकी थिइन्।
'यहाँका जनताले अब बढीमा दुई महिनाभित्र राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाउनेछन्', मन्त्री भुसाले भनिन्, 'अहिलेसम्म अध्यारोमा बसेर दुःख पाउनुभयो, अब ऊज्यालोमा बस्न पाउनु हुनेछ। हामी पर्याप्त विद्युत दिन्छौँ, भान्सा, कृषि, उद्योग र सबै यातायातका क्षेत्रमा विद्युत प्रयोग गर्नुहोस्।'
टाङ्गिया बस्तीमा करिब एक हजार ५०० घरधुरीको विद्युतीकरणका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको छ।
चैत २, २०७८ बुधबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।