अमेरिकी राष्ट्रपति बाइडेनसहित दर्जनौंलाई रुसले लगायो प्रतिबन्ध

काठमाडौंः रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरू दर्जनौंलाई प्रतिबन्ध लगाएको छ। रुसी विदेश मन्त्रालयले मङ्गलबार बाइडेनसहित उच्च पदस्थ अमेरिकीहरूलाई रुस प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो।
युक्रेनविरुद्ध रुसले गरेको हमलाको विरोधस्वरूप अमेरिकाले पछिल्लो सातायता रुसमाथि विभिन्न आर्थिक नाकाबन्दी लगाएको छ। त्यसको प्रतिक्रियामा रुसले पनि मङ्गलबार यस्तो घोषणा गरेको हो।
यस्तै अमेरिकी राज्यसचिव एन्टोनी ब्लिङ्केन, रक्षासचिव लोइड अस्टिन पनि रुस प्रवेश गर्न नपाउने सूचीमा परेका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकार, सीआईए प्रमुख, ह्वाइट हाउसका प्रेस सेक्रेटरी, यूएसएडका प्रमुख लगायत थुप्रैलाई रुसले आफ्नो मुलुक प्रवेश गर्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको छ।
यस्तै अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर र राष्ट्रपतिकी पूर्वउम्मेदवार हिलारी क्लिन्टन पनि रुस प्रवेश गर्न पाउने छैनन्।
रुसले थप प्रतिबन्धका कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ।
चैत २, २०७८ बुधबार ०८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।