तीन वर्ष भित्र सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउने शिक्षामन्त्रीको दाबी

तीन वर्ष भित्र सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउने शिक्षामन्त्रीको दाबी

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार, शिक्षक गुणस्तर र शिक्षा सम्बन्धी कानुनी सुधारमा केन्द्रित रहेको बताएका छन्।

उनले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे कार्यक्रम अगाडि ल्याएको जानकारी दिँदै सार्वजनिक विद्यालयको सुधारका लागि सरकार कटिबद्ध रहेको बताए।

राणाकाल देखि नै गुणस्तरीय शिक्षा दिँदै आएको काठमाडौँको त्रिपुरेश्वरको विश्व निकेतन माध्यमिक विद्यालयको हीरक जयन्तीमा पौडेलले आगामी तीन वर्षभित्र देशभरका सार्वजनिक विद्यालयहरूलाई भौतिक सुविधा सम्पन्न बनाउन सरकार अगाडि बढेको बताए।

सो विद्यालय २००३ सालमा स्थापना भएको हो। विद्यालय सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्टमध्येमा पर्छ।

शिक्षामन्त्री पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विश्व निकेतन माध्यमिक विद्यालयको योगदानको प्रशंसा गरेका थिए। उनले विद्यालयसँग आगामी दिनमा पनि निरन्तर सम्पर्कमा रहेर गुणस्तरीय शिक्षाका लागि अगाडि बढ्ने प्रतिपाद्यता पनि जनाए।

उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार कार्यका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताए।

१० लाखको अक्षयकोष स्थापना
हीरक महोत्सवकै अवसरमा विद्यालयमा ‘पद्य ज्योति तथा मिरा ज्योति’ नामक अक्षयकोषको स्थापना गरियो। वार्षिक रूपमा उत्कृष्ट शिक्षक विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले १० लाखको अक्षयकोषको स्थापना गरेको सौरभ ज्योतिले घोषणा गरेका हुन्।

आफ्ना बुबा आमाको नाममा हीरक महोत्सवका अवसरमा ज्योतिले सार्वजनिक रूपमा अक्षयकोष स्थापना गरिएको घोषणा गरेका थिए।

चैत १, २०७८ मंगलबार २३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।