
एआइजीमा गठबन्धन र आइजिपीको भागबन्डा : सुवेदी र लामा अटाएनन्, पन्तलाई चिट्ठा पर्यो

काठमाडौँ : नेपाल प्रहरीको रिक्त तीन एआइजी पदमा सत्ता गठबन्धनका २ दल र प्रहरी महानिरीक्षकबिच भागबन्डा भएको छ। मन्त्रिपरिषद्ले प्रहरीको जनपदतर्फ तीन दरबन्दी थपेको थियो।
तीन दरबन्दीमा प्रहरी महानिरीक्षक शैलेशकुमार क्षेत्रीको कोटाबाट वसन्तकुमार पन्त सिफारिस भएका छन्। दोस्रो नम्बरमा नेपाली कांग्रेसको कोटाबाट धिरजप्रताप सिंह र तेस्रो नम्बरमा माओवादी केन्द्रकोतर्फबाट रवीन्द्रकुमार धानुकको नाम सिफारिस भएको छ।
धानुकको नाममा कांग्रेस सहमत नहुँदा डिआइजीको बढुवाको नाम सिफारिस हुन सकेको थिएन। अर्थमन्त्री जनार्दन शर्माले धानुक एआइजी हुने सर्तमा मात्रै दरबन्दी थप्न बजेटमा सहमति जनाएका थिए। तर कार्यक्षमताको नम्बरमा उनीभन्दा अन्य डिआइजी अगाडि भएकाले गृहमन्त्री बालकृष्ण खाँणले मानेका थिएनन्। तर उनको नाममा सहमति नगरे बढुवा सूची नै निकाल्न समस्या भएपछि अन्तमा धानुकको नाममा सहमति भयो।
धिरजको नाममा कांग्रेसमा समस्या थिएन। प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणसम्म उनको नाममा सहमत थिए। उनी प्रहरी सँगठनमा व्यवसायिक प्रहरी अधिकृतको रुपमा परिचित प्रहरी अधिकृत पनि हुन्। यस अगाडि एमाले नेतृत्वको सरकारले उनीभन्दा वरियता र कार्यक्षमतामा पनि पछाडि रहेका शहकुल थापालाई अगाडि बढाउँदा उनी पछि परेका थिए।
उत्तमराज सुवेदी कांग्रेससँगै माओवादी र एकिकृत समाजवादीको समेत समर्थनमा कोटामा पर्न दौडमा थिए। तर उनले सकेनन्। भागरथी बलात्कार र हत्याको घटनामा डिआइजीको रुपमा उनको भुमिकाको प्रशंसा भएको थियो।
वसन्त लामाले पनि प्रयास नगरेका हैनन्। कार्यक्षमतामा उनको अंक अन्यको तुलनामा अगाडि नै रहेको स्रोतले बतायो। ३८ किलो सुन तस्करीको अनुसन्धानमा उनको भुमिका विवादमा आएको थियो। उनी सिफारिसमा छुटे। वरिष्ठतामा अगाडि रहेका ईश्वरबाबु कार्की कतैको भागबन्डामा पर्न सकेनन्।
ब्यक्तीगत महत्वाकांक्षाका कारण आफ्नै संगठनले ३८ किलो सुन तस्करीको अनुसन्धान प्रक्रियालाई लिएर संगठित अपराधमा तानिदिँदा बढुवामा पछि परेका दिवेस लोहनी पनि प्रतिष्पर्धी नै थिए। प्रहरी संगठनभित्र दुर्लभ व्यवसायीक प्रहरीको सूचीमा पर्ने उनीमाथि झुठो आरोपमा करिअर खराव भएकोमा क्षतिपुर्ती दिन न संगठन प्रमुखले सम्झिए न सरकारमा रहेकाले नै। अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका उनी प्रतिष्पर्धामै अटेनन्।
पन्त आइजिपी क्षेत्रीकै ब्याचका सिनियर डिआइजी हुन्। उनी बढुवामा पछि पर्दै गएका थिए। उनी क्षेत्रीसँगै अवकाशमा जानेछन्। जानकारस्रोत लामा र सुवेदीविचको पावर एक्सरसाइजका कारण समेत पन्त बढुवामा पर्न सफल भएका हुन्। आइजीपीसँगै अवकासमा जाने भएकाले पनि उनको नाममा सहमती हुन सहज भयो।
आइजीपी सम्भव होला !
अहिले रहेका एआइजीमध्ये विश्वराज पोखरेल र सहकुल थापा बाहेक अन्य एआजीहरु वर्तमान आइजिपीसँगै अवकाशमा जानेछन्। सो हुँदा सबैभन्दा पहिला बढुवा पाएका विश्वराज आइजिपीका बलिया दाबेदार हुनेछन्। सके पोखरेलकै पालामा नसके उनीपछि प्रहरी नेतृत्वमा लैजाने गरी तत्कालीन एमाले नेतृत्वको सरकारले एआइजीको एक दरबन्दी थपेर थापाको बढुवा गरेका थिए।
वर्तमान सरकारले यी दुवैको विकल्पमा आइजिपीमा तेस्रो दाबेदारका रूपमा सिफारिसमा परेका २ मध्येबाट एक जना अगाडि बढाउने प्रयास स्वरूप दरबन्दी बढाएको देखिन्छ। प्रहरी नियमावलीमा सरकारले चाहेमा ब्याख्या गरेर एआइजीमध्येबाट आइजिपी बनाउन सक्छ। यो अवस्थामा मंगलबार सिफारिस भएकामध्येबाट पन्त अवकासमा जानेछन्। त्यो बेलामा जम्मा चार जना मात्र बाँकी रहनेछन्।
बढुवा वरियतामा पहिलो नम्बरमा पोखरेल, दोस्रोमा थापा र तेस्रोमा सिंह रहनेछन् भने चौथौँमा धानुक रहनेछन्। यो अवस्थामा सरकारले जोखिम मोल्न चाहे तेस्रो या चौँथो नम्बरबाट समेत आइजिपी चयन गर्नसक्ने छुट प्रहरी निमावलीले दिएको छ। तर पोखरेल एक आर्थिक वर्ष नै नाघेर धेरै बढुवा भएकाले कानुनी विवाद निम्तने जोखिम भने छ।
यस अगाडि पनि प्रधानमन्त्री शेरबहादुर देउवा भएकै बेलामा आइजिपी नियुक्तीमा नवराज सिलवाल र जयबहादुर चन्दको कानुनी लडाइमा देउवाले छानेका चन्द र एमालेले ब्याकअप दिएका सिलवाल नभएर प्रकाश अर्याल भएका थिए।
चैत १, २०७८ मंगलबार २२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।