चीनमा फेरि कोभिडको त्रासः १३ सहरका तीन करोड मानिस लकडाउनमा

चीनमा फेरि कोभिडको त्रासः १३ सहरका तीन करोड मानिस लकडाउनमा

बेइजिङ : पछिल्लो केही दिन यता चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बढ्दो संक्रमणका बीच चीनमा करिव ३ करोड जनसंख्या लकडाउनमा छन्। मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए। यो सोमबारको तुलनामा दोब्बर संख्या हो। उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा पुर्याएको छ। 

मंगलबार चीनका कम्तीमा १३ सहरमा पूर्णरुपमा लकडाउन गरिएको छ भने अरु धेरै सहरमा आंशिक लकडाउन घोषणा गरिएको छ। कोभिडबाट उत्तरपूर्वी प्रान्त जिलिन सबैभन्दा बढी प्रभावित छ। मंगलबार यहाँ ३ हजार नयाँ संक्रमित फेला परेको नेसनल हेल्थ कमिसनले जनाएको छ। 

त्यस्तै ९० लाख जनसंख्या भएको भएको प्रान्तीय राजधानी चाङचुनका बासिन्दालाई घरमै बस्न भनिएको छ। १ करोड ७५ लाख मानिसहरुको बसोबास रहेको दक्षिणी टेक हब सेनजेन तीन दिनदेखि लकडाउनमा छ। धेरै उद्योग बन्द छन भने सुपरमार्केट दराज खाली देखिन्छन्।

उता चीनकै ठूलो सहर सांघाई विभिन्न प्रतिबन्धको जालोमा झेलिएको छ। बाँकी विश्वको धेरैजसो ठाउँमा सहज भइरहेका बेला बन्द छिमेकका दृश्य, डरलाग्दो किनमेल र पुलिस घेराले चीन फेरि महामारीको प्रारम्भिक चरणमा फर्किएको झल्को दिएको छ। 
 

चैत १, २०७८ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।