पर्यटनमन्त्री आलेमाथि किर्तेको आरोप : पर्यटन बोर्डको सदस्यको नक्कली राजीनामा लेखेर स्वीकृत गराएको दाबी

पर्यटनमन्त्री आलेमाथि किर्तेको आरोप : पर्यटन बोर्डको सदस्यको नक्कली राजीनामा लेखेर स्वीकृत गराएको दाबी

काठमाडौँ : नारायणहिटी सङ्ग्रहालय परिसर अनि तिलगंगामा रहेको पशुपति धर्मशालामा हस्तक्षेप गरेर हिरो बनेका संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेका एकपछि अर्को बदमासीका फेहरिस्त सार्वजनिक भइरहेका छन्।

आफ्ना विरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै भारतमा रहेका एक नेपालीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको अडियोदेखि, क्यासिनो सञ्चालकसँग मिलेमतोमा अनुमति दिएको, लुम्बिनी विकास कोषमा व्यापारिक स्वार्थमा रिसोर्ट सञ्चालनको अनुमति दिएको विवादमा परेका उनी पछिल्लो समय तारागाउँ विकास समितिमा सदस्य सचिव नियुक्तिको विवादमा तानिएका छन्।

अहिले उनै आले मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डका एक सदस्यले राजीनामै नदिए पनि आफैँले नक्कली राजीनामा बनाएर आफैँले स्वीकृत गरेको विवादमा परेका छन्। यो घटना केवल विवादको रूपमा मात्रै छैन अदालतमै पुगिसकेको छ।

पर्यटन बोर्डको तत्कालीन सदस्य लीला बहादुर लामा तामाङले आफ्नो किर्ते हस्ताक्षर प्रयोग गरी राजीनामा गराएको आरोपमा उनी विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ।  फागुन ६ मा तामाङ नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा २(छ) बमोजिम नेपाल पर्यटन बोर्ड कार्यकारी समिति सदस्यमा नियुक्त भएका थिए। उनी तीन वर्षका लागि मनोनीत भएका थिए।

सहसचिव होम प्रसाद लुइँटेलको हस्ताक्षर गरेर उनलाई नियुक्ति पत्र दिएका छन्। तर उनले नियुक्ति पाइसकेपछि पनि मन्त्री आलेले नियुत्ती नभएको दाबी गरेको र आफूलाई राजीनामा गर्न अनुरोध गरेको उनले दाबी गरेका छन्। उनले राजीनामा दिन नमानेपछि आले आफैँले उनको राजीनामा पत्र तयार पार्न लगाएर आफैँले स्वीकृत गरेको लामाको दाबी छ।

‘मेरा नियुक्तिको विषयमा भ्रामक तथा कपोलकल्पित र अप्रमाणित समाचारहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको तथा माननीय मन्त्रीको आफ्नो राजनीतिक दलको मानिस नेपाल पर्यटन बोर्डमा नियुक्त नभएको भनी विभिन्न समाचारहरू प्रकाशित भएपछि माननीय मन्त्रीले मलाई राजीनामा गर्नलाई अनुरोध गर्नु भएको थियो,’ उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ।

तामाङले आफूले राजीनामा नदिने भनी अडान लिएपछि मन्त्रालयले फागुन १० मा नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यबाट राजीनामा दिएको नक्कली डकुमेन्ट बनाएको उनको दाबी छ।

‘म निवेदकले राजीनामा दिएको र मिति २०७६-११-१० को माननीय मन्त्री स्तरको निर्णयअनुसार राजीनामा स्वीकृत भएको जानकारी भनी मलाई च.न. ६७१ पत्रसंख्याः २०७८/७९ भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिति २०७६-१०-२२ गते उल्लेख गरिएको पत्र मलाई दिएको छ,’उनले लेखेका छन्।

तामाङले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएर दिएको रिटमा सुनुवाइ गर्दै अदालतले छलफलको लागि दुवै पक्षलाई अदालतमा बोलाएको छ।

उच्च अदालतले नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डप र मन्त्रालयलाई चैत ६ गते अन्तरिम आदेश माग गरेकाले छलफलको लागि बोलायो। न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले फागुन २६ गते दिएको आदेशमा तामाङले उत्प्रेषणको आदेश जारी गरी पाउँ भनी दिएको निवेदन इजलास समक्ष पेस हुँदा यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो सबुद प्रमाण सहित आफ्नो भएको ब्यहोराको लिखित जवाफ लिई पन्ध्र दिन भित्र हाजिर हुन आउन' भनिएको छ।

लामा नियुक्तीको पत्र र उनको राजिनामा स्विकृत भएको पत्र

आपराधिक पृष्ठभूमिका हुन् लामा

आले विरुद्ध अदालत धाइरहेका लामा पर्यटन व्यवसायीभन्दा पनि आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनी विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट करोडौँ रुपैयाँ लुटपाट गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन्।

एभरेस्ट बैङ्क, बैङ्क अफ काठमान्डु, गुडविल फाइनान्स, कान्तिपुर फाइनान्स र स्याकार ट्रेडिङ कम्पनीमा लुटपाट गरेको आरोप उनी २०६२ मा पक्राउ परेर काठमाडौँ जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो।

उनी कारागारमै रहेको बेलामा २०६७ मा दरबारमार्गको अन्नपूर्ण कफी सपबाट १५ ग्राम ब्राउन सुगर र २० लाख रुपैयाँसहित पक्राउ परेका थिए। उनी २०६७ मा प्रजातन्त्र दिवसमा सरकारले दिने आममाफीमा परेर कारागारमुक्त भएका थिए।

चैत १, २०७८ मंगलबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।