विद्यालयमा हिजाब लगाउन नपाइने अदालतको निर्णय: 'हिजाब इस्लामको अनिवार्य हिस्सा होइन'

एजेन्सीः भारतको कर्नाटक उच्च अदालतले विद्यालय तथा कलेजमा हिजाब लगाउन नपाउने निर्णय गरेको छ। आज मङ्गलबार एक निर्णय गर्दै अदालतले इस्लाम धर्ममा हिजाब अनिवार्य नभएको भन्दै विद्यालय तथा कलेजमा औपचारिक पोसाक नै लगाउनुपर्ने बताएको हो।
योसँगै कर्नाटकका विद्यालयमा हिजाबमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सदर भएको छ। यस्तै हिजाबमाथि प्रतिबन्ध लगाएको भन्दै दायर गरिएको त्यसविरुद्धको रिट पनि अदालतले खारेज गरिदिएको छ।
भारतमा हिजाबमाथिको यो विवाद भने कर्नाटकको उडुपी शहरबाट सुरु भएको थियो। १ जनवरीमा उडुपीका ६ मुस्लिम छात्राले हिजाब लगाएर विद्यालय आउँदा उनीहरूलाई कक्षाकोठामा प्रवेश गर्न दिइएको थिएन।
यही विवादकै बीच कर्नाटकको शिवमोगामा बजरङ्गदलको एक कार्यकर्ताको हत्या भएको थियो। घटनालाई लिएर सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी दल कांग्रेसबीच पनि विवाद जारी छ।
चैत १, २०७८ मंगलबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।