
नेपाल-यूएई संयुक्त समितिको बैठक आज: नेपाली श्रमिकको सुरक्षा र हितका विषयमा छलफल हुने

काठमाडौंः नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) को संयुक्त समितिको बैठक आज आबुधावीमा हुँदैछ। बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।
उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्त्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन्। बैठकमा नेपाल र यूएईबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ।
यस्तै यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यान्वयन पक्षमा पनि छलफल गरिने भएको छ।
बैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिनेछ। पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्री श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्री डा. अवारबीच भेटका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ। बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्ने बताइएको छ।
चैत १, २०७८ मंगलबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।