
९० लाख पाउने लोभमा ह्वाट्सएपको स्पाम मेसेजलाई विश्वास गर्दा गुम्यो २९ लाख

काठमाडौंः चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ। ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले ९० लाखको चिठ्ठा परेको, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा एक जनाले रु २९ लाख गुमाउनुपरेको हो।
विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिएका थिए।
पीडितले पनि ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेका थिए। पछि ठगीमा परेको पत्ता लागेपछि प्रहरीले ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतमलाई पक्राउ गरेको छ।
मानगरीय अपराध महाशाखाले पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए।
चैत १, २०७८ मंगलबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।