
तीन नेताको हेडक्वाटर बनाएर जसपामा अल्पकालीन युद्ध विराम

जसपाका एक नेताका अनुसार तीन अध्यक्षको विकल्पको रूपमा सोमबारको केन्द्रीय समिति बैठकले तत्काल निर्णय गर्नुपरेको अवस्थामा निर्णय गर्न सक्ने अधिकार सहित केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको छ।
उनीहरूलाई कार्यकारिणी तथा केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा निर्णय गर्न सक्ने अधिकार तोकिएको छ। यसै गरी कुनै विषयमा तत्काल निर्णय लिनु परेमा तीन नेता बसेर निर्णय गर्न सक्ने अधिकार तोकेको छ।
बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ उम्मेदवार चयनसहितको मापदण्ड समेत पारित गरेको छ। बाँकी रहेका जिल्ला, पालिका, भ्रातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ।
बैठकले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन समेत गर्ने निर्णय गरेको छ। बैठकले पार्टीको जिल्ला तथा स्थानीय तहमा रहेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय समेत गरेको छ।
फागुन ३०, २०७८ सोमबार २२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।