एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँः प्रधानमन्त्री देउवा

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँः प्रधानमन्त्री देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन्। 

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता एमाले नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए। 

प्रधानमन्त्री देउवाले भीम रावललाई लक्षित गर्दै भने, सरकारमा हुँदा एमसीसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र देखाए। 

एमसीसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस (एमसीसी)को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, यसले अहित केही पनि गर्दैन उनले भने। 

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे। 

“एमसिसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न”, प्रधानमन्त्री देउवाले भने, “देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन्।”  

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, माओवादी केन्द्रका प्रदेशसभा सदस्य हिरानाथ खतिवडालगायतका वक्ताहरुले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तरसहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गरे। 

विभिन्न स्रोतबाट जुटाइएको चार करोड ५६ लाखमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए। तोकिएको समय अगावै निर्माण व्यावसायीले उक्त भवन सम्पन्न गरेको हो। 

फागुन ३०, २०७८ सोमबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।