
सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौँ : देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
तनहुँको आँवुखैरेनी गाउँपालिका-२ ऐनामा ग.२ख३०७ नम्बरको बस र ग.३च६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा तीन जनाको मृत्यु भएको। मृत्यु हुनेमा सुमो चालक समेत तीन जना रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल हुँदै पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये एक जनाको आबुखैरेनीस्थित हाडजोर्नी अस्पताल र पाँच जनाको सोही अस्पताल हुँदै नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ। चार जना उपचार पश्चात डिस्चार्ज भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पाको तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा लु.१४प६८६४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थान बस्ने २० वर्षीय भरत गोदार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जना घाइतेमध्ये १ जनालाई उपचारको लागि विराटनगर रिफर गरिएको छ। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुर खोलामा ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। टिपरमा जन्ती सवार रहेका थिए।
फागुन ३०, २०७८ सोमबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।