रावललाई लक्षित गर्दै देउवाले भने, 'दुईजिब्रे कुरा गर्न पाइन्छ?'

रावललाई लक्षित गर्दै देउवाले भने, 'दुईजिब्रे कुरा गर्न पाइन्छ?'
फाइल तस्बिर

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी अनुमोदन गराउँदा एमाले नेता भीम रावलले विरोध गर्नुको अर्थ नरहेको बताएका छन्। नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद्मा पेश भएको प्रस्ताव नै अहिले पारित भएको बताएका थिए।

ओली प्रधानमन्त्री हुँदा र रावल रक्षामन्त्री हुँदा क्याबिनेटबाट एमसीसी संसद्मा पेश गर्ने निर्णय भएको बताउँदै देउवाले भने, ‘भीम रावलले के हेरेर बसेको त्यसबेला? अहिले किन विरोध गर्नुपर्थ्यो। खिलाफमा हो भने उसले राजीनामा दिनुपर्थ्यो बाहिर आउनुपर्थ्यो। यस्ता दुईजिब्रे कुरा गर्न पाइन्छ?’ 

प्रधानमन्त्री देउवाले एमसीसीबारे असन्तुष्ट रहेको भए मन्त्री हुँदा नै रावलले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘रक्षामन्त्री हुँदा क्याबिनेटबाट पास गरेर संसद्मा ल्याउने अहिले ओलीले ल्याएको प्रस्ताव पारित गर्दा किन टाउको दुख्ने? आफ्नै क्याबिनेटले पास गर्ने, उसको दिमाग फुस्केको थियो? थाहा थिएन भन्ने हुन्छ यहाँ? केपी ओली सरकारको मन्त्री थिए उनी। त्यसबेला किन विरोध गर्नुभएन? किन राजीनामा गर्नु भएन? अहिले आएर बोल्ने?’, प्रधानमन्त्री देउवाले भने।

फागुन ३०, २०७८ सोमबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।