
ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ आउँदै

काठमाडौंः ग्रीन भेन्चर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला हुने भएको हो।
कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ।
कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ।
फागुन ३०, २०७८ सोमबार १२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।