
नौ हजार ६ सय ५४ नेपालीलाई रोजगारीका लागि कोरिया लगिने, आवेदन खुल्यो

काठमाडौंः रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ। ईपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६ सय ५४ नेपाली रोजगारीका लागि लैजाने छ। तीमध्ये ६ हजार नौ सय १३ उत्पादनमूलक र दुई हजार सात सय ४१ कृषि तथा पशुपालनतर्फ लैजाने कोरियाको तयारी छ।
कोरियामा श्रमिकको मागका आधारमा नेपाली श्रमिकको छनोट थपघट हुने शाखाले जनाएको छ।
भाषा परीक्षामा सहभागी हुन चैत १४ देखि २१ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ। परीक्षामा सहभागीको भाषा परीक्षाका साथै सीप परीक्षण पनि हुनेछ। आवेदन फारम शुल्क अमेरिकी डलर २४ लाग्नेछ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षा र सीप परीक्षण आगामी वैशाख २६ देखि जेठ १३ सम्म पहिलो चरण र आगामी जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणमा हुनेछ। यस्तै उत्पादनमूलक क्षेत्रतर्फको परीक्षा आगामी असार २० देखि भदौ १० सम्म पहिलो चरण र आगामी भदौ १६ देखि असोज २१ गतेसम्म दोस्रो चरणमा हुनेछ।
कृषि तथा पशुपालन क्षेत्रतर्फ पहिलो चरणमा भएको भाषा परीक्षाको नतिजा आगामी जेठ २४ गते र दोस्रो चरणमा भएको परीक्षाको नतिजा आगामी असार २३ गते प्रकाशन हुनेछ।
यस्तै उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणमा सम्पन्न भाषा परीक्षाको नतिजा आगामी भदौ १६ गते र असोज २७ गते प्रकाशन हुनेछ।
फागुन ३०, २०७८ सोमबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।