'किङ कोहली'को ओरालो यात्रा: ५ वर्षपछि ५० मुनिको औसत, अढाइ वर्षदेखि छैन शतक

काठमाडौंः भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली यो पुस्ताकै उत्कृष्ट ब्याट्सम्यान हुन्। तीनै फर्म्याटका खेलमा उनले बनाएका रेकर्डहरू मै हुँ भन्ने ब्याट्सम्यानको वशभन्दा टाढा छ।
यही कारण पनि उनलाई 'किङ कोहली' भनेर सम्बोधन गरिन्छ।
तर केही खेल होइन, केही श्रृङ्खला पनि होइन, केही वर्षयताको उनको प्रदर्शन निराशजनक छ। हालै एकदिवसीय क्रिकेट टोलीबाट उनको कप्तानी पनि खोसियो। टेस्ट र टी ट्वेन्टीमा उनले आफैँ राजीनामा दिए।
अढाइ वर्ष भयो कोहलीको ब्याटबाट सय रन प्रहार भएको छैन। अन्तिम पटक सन् २०१९ को नोभेम्बर २३ मा बङ्गलादेशविरुद्ध शतक प्रहार गरेका कोहलीले त्यसयता ७३ वटा पारी खेले। तर शतक आएन।
हालै पनि भारतको बेंग्लोरमा भारत र श्रीलङ्काबीच टेस्ट श्रृङ्खला जारी छ। श्रृङ्खलाको पहिलो पारीमा कोहलीले ४८ बलको सामना गर्दै २३ रन बनाए। दोस्रोमा १६ बलको सामना गर्दै १३ रन बनाए। र लगत्तै उनको ओरालो यात्रा 'स्ट्याट्स'मै देखियो। ५ वर्षपछि कोहलीको औसत रन ५० भन्दामुनि पुग्यो।
१०१औं टेस्ट म्याच खेलिरहेका कोहलीको औसत यतिबेला ४९.९६ रहेको छ। अब कोहलीले ५० को औसत बनाउन यो वर्षको जुलाईसम्म कुर्नुपर्ने हुन्छ। त्यतिबेला इङ्ग्ल्याण्डविरुद्धको एक टेस्ट म्याच खेलिनेछ।
फागुन ३०, २०७८ सोमबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।