
भिजिट भिसामा दुबई पुगी अलपत्र परेकाहरूको समस्या समाधान गर्न श्रममन्त्रीको टोली तीन देशको भ्रमणमा

काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्त्वको टोली दुबई, सेसेल्स र कतारको भ्रमणका लागि जाने भएको छ। सोमबार मन्त्री श्रेष्ठको टोली त्यतातर्फ जाने भएको हो।
नेपाल-यूएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा दुबई पुगी अलपत्र परेका नेपालीहरूको समस्या समाधानका लागि उनीहरू टोली भ्रमणमा जाने भएको हो।
भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन्। भिजिट भिसामा लैजाने व्यक्ति/संस्थाहरूलाई कानूनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले नेपाली श्रमिकहरूसँग छलफल गर्ने कार्यक्रम छ। मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे उनले यूएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन्।
मंगलबार नै नेपाल-यूएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा पनि मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्।
श्रेष्ठको टोली बिहिबार साँझ अफ्रिकी मुलुक सिसेल्स जाने र आइतबार कतार जानेछ। सोमबार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफलपछि टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।
फागुन ३०, २०७८ सोमबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।