
सिन्धुलीमा जन्ती सवार टिपर पल्टिँदा दुई जनाको मृत्यु, २४ घाइते

काठमाडौंः सिन्धुलीको दुधौली नगरपालिका- ५ ठाकुरखोला ३ नम्बर पुलमा आइतबार साँझ जन्ती सवार टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा २४ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। हिजो साँझ सवा ८ बजे, बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका- २ का १९ वर्षीय दिपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
अन्य घाइतेहरूको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ। बेहुला-बेहुली भने अर्कै गाडीमा सवार रहेकाले सुरक्षित छन्।
फागुन ३०, २०७८ सोमबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।