रुसी सेनाको गोली लागेर अमेरिकी पत्रकार रेनडको मृत्यु

एजेन्सीः युक्रेनमा युद्धग्रस्त क्षेत्रको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ब्रेन्ट रेनडको मृत्यु भएको छ। रुसी सेनाले प्रहार गरेको गोली लागेर उनको मृत्यु भएको हो।
राजधानी किएभनजिकैको इर्पिन शहरमा ५० वर्षीय रेनडको मृत्यु भएको बताइएको छ। उनको साथबाट न्युयोर्क टाइम्सको प्रेस कार्ड फेला परेको छ।
यद्यपि न्युयोर्क टाइम्सले भने एक विज्ञप्ति जारी गर्दै रेनडले सो संस्थाको लागि काम नगरेको बताएको छ। उनले सन् २०१५ मा अन्तिम पटक न्युयोर्क टाइम्समा काम गरेको र सो प्रेस कार्ड पनि वर्षौँअघिको भएको बताइएको छ।
रेनड युक्रेनको युद्धमा मारिने पहिलो विदेशी पत्रकार हुन्। यस्तै सोही घटनामा दुई जना पत्रकार घाइते भएको पनि बताइएको छ।
फागुन ३०, २०७८ सोमबार ०८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।