सत्ता-गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय चैत दोस्रो साता : गगन थापा

सत्ता-गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय चैत दोस्रो साता : गगन थापा

सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता-गठबन्धन दलहरुसँग चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन्। 

कर्णाली उत्सव कुडा कर्णालीको वक्ताको रुपमा सुर्खेत आएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताएका हुन्।

‘सत्ता गठबन्धनसँगै चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय भइसकेको छैन। अहिले हामीले जनताको बीचमा जाने गरी मात्र अभियान चलाएका छौं,’ महामन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्ताभित्र यो विषयमा हाम्रो केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुन्छ। सत्ता गठबन्धन र चुनावी तालमेल फरक कुरा हो।’

अन्य पार्टीहरुले बाहिर चर्चा जे गरे पनि चुनावबारे निर्णय गर्ने अधिकार कांग्रेसमा निहित रहेको उनले बताए।

अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको निर्वाचन गराउने भन्नेमा अलमल नभएको र तालमेलसँग यसले कुनै खास अर्थ नराख्ने थापाले उल्लेख गरे।

२०५६ सालमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धनको प्रसंग उठान गर्दै थापाले भने, ‘तत्कालीन समयमा नेकपा माओवादी केन्द्र सशस्त्र द्वन्द्वमा थियो। त्यो बेलाको आवश्यकता निर्वाचन गराउनुपर्ने भएकाले एमाले र कांग्रेसबीच गठबन्धन भयो। तर, निर्वाचनमा दुवै पार्टी अलग–अलग प्रतिस्पर्धा गरेर निर्वाचन लड्यौं।’

तर, चुनावमा सहकार्य गरेर जाने वा नजाने भन्ने विषयमा कांग्रेसभित्रै दुई वटा मत देखिएकोले पार्टीभित्र छलफल सुरु भएको थापाले बताए।

‘अहिले जुन गठबन्धन कायम छ, यही गठबन्धनलाई चुनावमा लैजानुपर्छ भन्ने मत पनि पार्टीभित्र छ,’ उनले थपे, ‘पार्टीको आफ्नो स्वभाव, चरित्र, मतदाताहरुको मनोविज्ञान र आवश्यकता अनुसार एक्लै निर्वाचन लड्नुपर्छ भन्ने अर्को मत छ। यसबारे आधिकारिक निर्णयका लागि चैत दोस्रो साता पर्खनुपर्नेहुन्छ।’

फागुन २९, २०७८ आइतबार २०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।