
दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

तनहुँ : दुर्घटनमा परी तनहुँमा तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत पर्ने आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारमा भएको दुर्घटनमा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको हो। दुर्घटनामा परी १० जना घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा शुक्लागण्डकी नगरपालिका– ८ का ७३ वर्षीय रुद्र सेन, ४५ वर्षीय लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङ रहेका छन्।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।
दुर्घटनामा तीन जनाको तनहँुस्थित अस्पतालमा मृत्यु भएको छ। अन्य घाइतेहरुलाई उद्धार गरी स्थानीय अस्पताल पठाएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि चितवनस्थीत पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।
बस चालकलाइ प्रहरीले नियन्त्रणमा दिएको छ भने टाटासुमो चालक घाइते भएकाले उनको अस्पतालमा उपचार भइरहेको छ ।
फागुन २९, २०७८ आइतबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।