बयानमा पलको दाबी : कोठामा गुड नाइट भन्न गएको हो, बलात्कार गर्न हैन

बयानमा पलको दाबी : कोठामा गुड नाइट भन्न गएको हो, बलात्कार गर्न हैन

तनहुँ : नाबालिगलाई विवाहको प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले आफू पीडित नाबालिगसँगै गैँडाकोट रिसोर्टमा बसेको स्वीकार गरेका छन्।

पूर्वी नवलपरासीमा जिल्ला न्यायाधीवक्ताको कार्यालयमा बयान दिने क्रममा उनले गीतको सुटिङको क्रममा एकै रिसोर्टमा बसेको तर कोठा भने फरक फरक लिएको दाबी गरेका थिए।

त्यहाँ बसाइको क्रममा नाबालिगको कोठामा गएको हो या हैन भन्ने प्रश्नमा शाहले आफू एक पटक नाबालिगको कोठामा गएको तर गुड नाइट भनेर फर्किएको बयान दिएको जानकार स्रोतले बतायो।

उनले आफू रिसोर्टको कोठा नम्बर १०१ मा र नाबालिग १०२ मा बसेको र आफूले नाबालिगलाई गुट नाइट भन्न ढोका ढकढक्याएको बयानमा दाबी गरेका छन्। उनले आफूले नाबालिगलाई बलात्कार नगरेको बयानमा दाबी गरेका छन्।

नाबालिगका परिवारले इलाका प्रहरी कार्यालयमा दिएको जाहेरीमा सुटिङको क्रममा गैँडाकोट रिसोर्टमा पुग्दा बहाना बनाएर बसाई लम्ब्याएर बलात्कार गरेको दाबी गरिएको छ।

शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा समेत अनुसन्धान भइरहेको छ। तनहुँमा रहेको साथीको घरमा बसेको बेलामा मादक पदार्थ पिएर बलात्कार गरेको नाबालिगको परिवारले जाहेरी दिए लगत्तै फरार भएका शाह पाँच दिनपछि आफैँ प्रहरी कार्यालयमा हाजिर हुन गएका थिए।

पहिलो पटक एक साता म्याद पाएको प्रहरीले दोस्रो पटक १२ दिनको म्याद पाएको थियो। प्रहरीले शाहसँगै उनको म्यानेजर कृष्ण जोशीलाई समेत मतियारको आरोपमा पक्राउ गरेर सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। कृष्णलाई नाबालिगको हत्याको धम्की दिएको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप छ।

फागुन २९, २०७८ आइतबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।